१ करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथमा विद्यालय भवन निर्माण

Posted on: 14 Mar, 2016
शिव न्यौपाने, चैत १, पोखरा / पोखरा उप महानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी हिजो एक समारोहका बीच साँचो विद्यालयलाई हस्तान्तरण गर्नुभयो । विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहिने र वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले विद्यालयको भवन बनाइ दिएको हो । आफू लगायत परिवार तनहुँको डुम्रे बजारमा बस्दै आएकामा २०३८ सालमा घरमाथिबाट पहिरोसँगै ढुङ्गा खसेर आफ्ना बुबाआमा, एक भाइ र दुई बहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा आएको र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा बचाएर पढ्न दुःख पाएका विद्यार्थीलाई केही सजिलो होस् भनेर विद्यालय भवन बनाइदिएको दाता सनतले बताउनुभयो । ठूलो निजी खर्च सहयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले पनि नवज्योति निमाविलाई दाताहरूको नाम थपेर विद्यालयको नाम नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरूको सहयोगबाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन निर्माणमा टेवा पुग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुुप्रसाद अधिकारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विद्यालयबारे बोल्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!