राष्ट्रिय जनावरको यो हालत !

Posted on: 03 Dec, 2016

मङ्सिर १८, काठमाडौँ । काठमाडौँ उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्छाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । 

गाउँघर तथा सहरका चोक, गल्ली र मूल सडक एवम् चौबाटामा छाडा गाई, साँढे र बहरले आश्रय लिँदै आएका छन् । छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ । 

पाँच हजारभन्दा बढी भुस्याहा कुकुर र दुई हजारभन्दा अधिक बेवारिसे र अलपत्र अवस्थामा गाई साँढे तथा साना बहर सडकमा रहेका छन् । खाने र बस्ने अभावमा रहेका रोगी, घाइते, भोका तथा पानी खान समेत नपाएका दिनहुँ दुर्घटनामा पर्ने गरेका छाडा चौपायालाई पाल्ने व्यवस्था मिलाउन राजधानीमा पर्याप्त गौशाला छैन । 

राजधानीकै ठूलो समस्याका रुपमा रहेका राष्ट्रिय जनावर गाई, साँढे, साना बहर तथा पाशुपत क्षेत्रमा बर्सेनि छाडिने साँढे र त्यसको संरक्षण नगर्ने परिपाटीले गर्दा ठूलो समस्या राजधानीवासीले भोग्दै आएका छन् । 

झन्डै एक दर्जन सरकारी निकायसँग समन्वय, सहकार्य, सहभागिता र सहयोगबिना छाडा गाई, साँढे व्यवस्थापन गर्न नसकिने जनाउँदै योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले तिनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई उपयुक्त निर्देशन दिन प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!