ठूला दलले सडकमा टायर बाल्ने होइनः राज्यमन्त्री बानियाँ

Posted on: 03 Dec, 2016


मङ्सिर १८, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताएका छन् ।

राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा आज उनको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई चुनौती थपिएको बेलामा प्रमुख दलहरूले जिम्मेवारीपूर्वक आफ्ना भनाइ प्रस्तुत गर्न सक्नुपर्ने बताए । 

उनले मुलुकको राष्ट्र अखण्डतालाई बलियो बनाउँदै अब संविधान कार्यान्वयन गरी स्थानीय निर्वाचन गराउने तर्फ दलहरू जुट्नुपर्ने आवश्यकता औँल्याए ।

राज्यमन्त्री बानियाँले मकवानपुरगढी, चिसापानीगढी र सीमभञ्याङ् र दामन पर्यटन विकासका लागि गुरुयोजना लागू गरी पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!