पोखराको पर्यटकिय स्थल पातले छाँगोमा खसेका युवक मृत भेटिए

Posted on: 03 Apr, 2016

शिब न्यौपाने/चैत २१, पोखरा । पोखराको पर्यटकिय स्थल पातले छाँगो अर्थात् डेभिड फल्समा खसेका एक जना मृत भेटिएका छन् । शनिवार दिउसो छाँगोको खोँचमा हामफालेका एक पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५० वर्षको जस्तो देखिने उनको पहिचान खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छाँगो हेर्न गएका अन्यले दिउसो उनी हामफालेको देख्ने वित्तिकै टिकट काउण्टर र प्रहरीलाई खबर गरेका थिए । क्षेत्रीय प्रहरी गण पोखराबाट तत्काल खटिएको उद्धार टोलीले उनको शब वाहिर निकालेको हो ।

छोरेपाटन उच्च मावि व्यवस्थाप समिति अध्यक्ष टीकाराम पौडेलका अनुसार उनी जानाजान हामफालेका हुन् । प्रहरीका अनुसार मृतकको साथमा १६ हजार ५ सय ६० रुपैया भेटिएको छ । त्यस्तै, डेभिड फल्सको दुई वटा प्रवेश पास समेत फेला परेको छ ।

शवको प्रकृति र उद्धारमा खटिएका प्रहरीका अनुसार उनको साथबाट अस्वभाविक गन्ध आएकाले कुनै विषालु पदार्थ खाएको हुनसक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!