पर्यटकीय गाऊँ घान्द्रुकमा नयाँवर्ष मेला

Posted on: 10 Apr, 2016

ghandrukचैत २८, पोखरा । नयाँबर्षको अवसरमा घान्द्रुकमा मेला लाग्ने भएको छ । रोधीं क्लबले स्थापनको आठौँ वार्षिकोत्सवको अवसर पारेर पर्यटकीय गाऊँ घान्द्रुकमा मेलाको आयोजना गरेको हो । बैशाख १ गतेदेखि शुरु हुने मेला ४ गतेसम्म चल्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन मेलाको मुख्य उद्देश्य भएको आयोजक रोधीं क्लबले जनाएको छ । ‘ढुंगेनी गाऊँ घान्द्रुक (कोंड)मा पर्यटकहरु भित्राउनुसँगै स्थानिय सँस्कृतिको जगेर्ना र खेलकुदको विकासका लागि हामीले मेलाको आयोजना गरेका हौँ ।’ पत्रकार सम्मेलनमा मेलाका प्रचारप्रसार सँयोजक अमृत लामा (गुरुङ)ले भने–‘विदेशिएका घान्द्रुकेहरुलाई गाऊँमै फर्काउन पनि मेलाले सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’

एक्याप अन्तरगत पर्ने घान्द्रुकमा मेलाकै अवसरमा विश्व वन्यजन्तु सप्ताह २०७३ पनि मनाउने क्लबले जनाएको छ । चार दिनसम्म चल्ने मेलामा स्थानिय रहनसहन, वेशभुषा र खानपिन विशेष आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यो सँगै मेला अवधीमा क्लबस्तरिय पुरुष भलिबल, महिला भलिबल, बास्केटबल लगाएतका प्रतियोगिता पनि हुने क्लबका सचिव तथा खेल सँयोजक राजबहादुर गुरुङले बताए । त्यस्तै छेलो प्रतियोगिता, म्यूजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता, घैँटो फुटाउने जस्ता रमाईला खेलहरु पनि मेलाको आकर्षण रहेको आयोजकले बताएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले बताएको छ । त्यस्तै महिलातर्फ भलिबलमा प्रथम हुने टिमले २० हजार र दोस्रो हुने टिमले १० हजार रुपैयाँ नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बास्केटबल पुरुषतर्फ मात्र हुनेछ । बास्केटबलमा प्रथम हुने टिमले ३० हजार र दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभिन्न खेलकुदसँगै हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुती रहने आयोजकले बताएको छ । मेला अवधीभर पर्यटकलाई घान्द्रुकका सम्पूर्ण होटलहरुले प्याकेजमा खाने र बस्ने व्यवस्था गरेका छन् । खेलाडिको हकमा प्रति खेलाडि बे्रकफास्ट, लञ्च, डिनर र सुत्ने कोठा गरि दैनिक ८ सय रुपैयाँको प्याकेज होटलहरुले दिएका छन् । अन्य पर्यटकका लागि साविकको तुलनामा २० प्रतिशत कम मुल्यमा प्याकेज उपलब्ध गराउने घान्द्रुकका होटल संचालकहरुले जनाएका छन् ।

घान्द्रुक मेलाका लागि ४८ वटा जीप र करिब १० वटा बसको व्यवस्था गरिएको आयोजकले बताएको छ । पोखराको हरिचोकबाट जीप र बस लाग्छन् । करिब दुई घण्टा गाडीको यात्रा र आधा घण्टाको पैदलयात्रा पछि घान्द्रुक पुगिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!