तेह्रथुममा बत्तीस घर जलेर नष्ट

Posted on: 16 Dec, 2016

पुस १, पाँचथर । तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् । 

आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ । बिहान ९:३० बजे अग्नि सेढाईंको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । आगो चार घन्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकलसहितको प्रहरीको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट निभाइएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो । 

आगलागीबाट ती घरमा डेरामा बसेका २७ परिवारको पनि बिचल्ली भएको छ । ती घरमा व्यापार व्यवसाय गर्नेको तथ्याङ्क पनि यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन गर्न थालिएको प्रहरीले जनाएको छ । आगलागी प्रभावितका लागि राहत र सहयोगका लागि सदरमुकाम म्याङ्लुङमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!