मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on: 17 Dec, 2016

पौष २ पर्वत ।मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेकले जिल्लामा भएका मानवअधिकार हनन् सम्बन्धीका घटनाहरुको बारेमा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । 


जिल्लामा रहेका सरोकारवाला निकायहरुसँग शुक्रबार इन्सेकले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो मानवअधिकार बर्ष पुस्तक २०१७ को पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी जिल्लामा भएका घटनाहरुको बारेमा जानकारी गराएको हो ।

 कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ हेर्दा जिल्ला तथ्याङकका हिसाबले मानवअधिकार हनन्का घटना घटेको देखाएता पनि प्रकृतिका आधारमा जिल्लामा मानवअधिकार हनन्का घटनाहरु बढेको पाइएको छ ।तथ्याङकका आधारमा जिल्लामा गत बर्षको तुलनामा फरक शैलीका घटना घटेको देखाएको छ । सन् २०१५ मा जिल्लामा  बालअधिकार हनन् ४, मापसे गरी झगडा ७७, बहुविवाह ३२, खानालाउन नदिएको उजुरी ४०, नागरिकता र विवाह दर्ता नपाएका उजुरी ९ वटा परेका थिए भने २०१६ मा फरक प्रकृति र फरक शैलीका घटना दर्ता भएका छन् । 


जसमध्ये मापसे गरी कुटपीट ३६, बहुविवाह २९, संखा, उपसंखा तथा झैझगडा तथा कुटपीट ५२,नागरिक तथा विवाह दर्ता नगरेको ७, भुक्काएर सम्बन्ध विच्छेदन १, बेचविखन १ उजुरी दर्ता भएको तथ्याङकले देखाएको छ । त्यस्तै ३ महिला जसमध्ये २ बालिका बलात्कृत, १ बालविवाहको घटना फेला परेको छ । विगतका बर्षका तुलनामा जिल्लामा मापसे, झैझगडा लगायतका घटनामा कमि आएको देखिएता पनि जिल्लामा बेचविखन, बालविवाहको कलंक, बहुविवाह, महिला हिंसाका घटना भने अझै पनि नघटेको तथ्याङकले देखाएको छ । 

फरक शैलीका घटना बढ्नुले पनि जिल्लामा अझै पनि मानवअधिकारको हनन् हुने गरेको पाइएको छ । श्रीमान्ले दोस्रो विवाह गरेपछि ६ वटा सन्तानकी आमाले ११ बर्षसम्म न्याय नपाएको भन्दै  कार्यक्रममा गुनासो गरिन् । राम्जा देउराली ५ की खगेश्वरी केसीले श्रीमा्नले दोस्रो विवाह गरेपछि आफ्नो गासबासमा ठेस पुगेको उनले बताइन ।


 जिल्ला अदालतले प्रति सन्तान खानाको लागि भन्दै ४ सय रुपैया दिन फैसला गरेको तर आफु उक्त फैसला बाट सन्तुष्ट नरहेको बताइन् । छोराछोरीको लालानपालनको लागि अदालतले प्रति सन्तान ४ सयको फैसला सुनायो त्यसले म के गरु ? ४ सयले के नै आउँछ र ? उनले भनिन् । ११ बर्षदेखि न्यायको लागि ढोका ढकढकाएता पनि आफुले न्याय अझै नपाएको उनले गुनासो गरिनन् ।


बार एसोसिएशनका अध्यक्ष विश्वराज पाण्डेले जिल्लामा मानवअधिकारका घटनाहरुमा कमी नआएको औलाए । उनले नीजि विद्यालयमा भारी झोला बोकाउने र विद्यार्थीलाई कुटपीट गर्ने अझै पनि कायम रहेको र त्यहाँ मानवअधिकार र बालअधिकार हनन् भैराखेको भन्दै त्यस तर्फ पनि धयान जानुपर्ने बताए । जिल्लामा हिंसा तथा पीडितमा परेका महिला तथा बालबालिकाको संरक्षणको लागि कुनै पनि निकायले कान नगरेको र  हाल बन्दै गरहेको सुरक्षित घरको लागि आवश्यक आर्थिक सहयोग सरोकारवाला निकायबाट प्राप्त हुन नसकेको भन्दै उनले दुखेसो समेत पोखे । 


व्यक्तिले मानवअधिकार हनन् गरे वा कानून विपरीत काम गरे कारवाही हुन्छ राजनीतिक दलले गरे ढाकछोप हुन्छ उनले भने । कार्यक्रममा अधिवक्ता दिलिपराज शर्मा, जगदीश शर्मा, हरि नारायण, उपभोक्ता मंचकी अध्यक्ष सरिता भण्डारी शरु, महिला मानवअधिकार रक्षकहरुको संजालकी अध्यक्ष सिता केसी लगाएतले जिल्लामा अझै पनि महिला तथा मानवअधिकार सम्बन्धी घटनाहरु नहटेको बताए । उनीहरुल्े जिल्लामा भएका घटनाहरुको सत्यतथ्य तथ्याङक राख्नको लागि समेत     सुझाए ।


प्रमुख जिल्ला अधिकारी सम्भू मरासिनीले जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि आफुले पहल गर्ने बताए । उनले जिल्लामा कुनै पनि अप्रिय घटना नभएको भन्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्थापनको लागि संयन्त्रहरु परिचालन गरी थप शसक्त बनाउने बताए । नागरिक संजाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि किशोर सापकोटाले जिल्लामा भएका मानवअधिकार हनन् तथा घटनाको बारेमा जानकारी गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!