पाँचौ लमजुङ महोत्सवमा मन्त्री जोशीले भने - 'दश वर्षपछि युवा विदेशीन पर्दैन'

Posted on: 18 Dec, 2016

पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उहाँको भनाइ थियो । 

“सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,” – मन्त्री जोशीले भन्नुभयो “नीति नियममा सहजीकरण गर्न सरकार लागीपरेको छ ।” उद्योग सञ्चालनका लागि आवश्यक कानुन नियमावली परिमार्जनको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उहाँले बताउनुभयो । 

मुलुकको समृद्धि विकास उद्योगबाट मात्रै सम्भव भएको भन्दै मन्त्री जोशीले राष्ट्रिय हैसियत राख्नेखालका उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले अब मुलुक आर्थिक उन्नतिमा लम्किएको दाबी गर्नुभयो । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा यहीँ उत्पादन गर्ने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । मन्त्री जोशीले आजै बेसीसहरमा सञ्चालनमा ल्याइएको हुलाकी बेकरी उद्योगको समेत उद्घाटन गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!