पोखरामा ४० बर्षमा पनि बनेन बसपार्क,अब कहिले बन्ला ?

Posted on: 11 May, 2016

शिव न्यौपाने/बैशाख २९, पोखरा । चार दशकअघि अधिग्रहण गरिएको जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भर्खरै शिलान्याससम्म भएको छ । तर, त्यतिबेलै व्यवस्थित बसपार्कका लागि छुट्याइएको जग्गा भने अझै अव्यवस्थित छ ।

व्यवस्थित बसपार्क बनाउन सहरको बीच भाग (पृथ्वी चोक) मा २०३२ सालमा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, पोखरा उपत्यका नगर विकास समितिलगायत अन्य सरोकारवालाको बेवास्ताले बन्न सकेको छैन । बरु समितिकै केही पूर्वपदाधिकारीले घडेरी बनाएर बिक्री गरेको र सुकुम्बासीका नाममा घरटहरा बनाएर बस्दा अहिले यो अतिक्रमणको चपेटामा परेको छ ।

बसपार्कबाट पृथ्वी, सिद्धार्थ र पोखरा– बागलुङ राजमार्ग सुरु हुन्छन् । बसपार्क अभावमा सवारीसाधनको व्यवस्थापन नहुँदा उपमहानगरको शोभा नै घटेको छ । पर्यटक तथा अन्य यात्रुले दुःख पाएका छन् । यात्रु बीच बाटोमा बस्नुपर्ने अवस्था छ । दुर्गन्ध पनि उस्तै । सडकमै पार्किङले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । वर्षाका बेला बसपार्क छिर्नै मुस्किल हुन्छ ।

कुनै पनि सहरको सम्पन्नताका लागि त्यहाँको भौतिक पूर्वाधार महत्वपूर्ण हुन्छ । तर, ‘मेट्रोसिटी’ का रूपमा विकसित हुँदै गएको र प्रस्तावित ४ नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको पोखरामा बसपार्क नबन्नु दुखद् रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा बताउछन् । ‘अग्रजले दूरदृष्टि लगाएर उतिबेलै जग्गा खोजेका थिए । व्यवस्थित बसपार्क बनेको भए प्रकृतिको धनी पोखरा अझै सुन्दर देखिन्थ्यो,’ उनले भने, ‘तर भएको जग्गा पनि उपयोगमा ल्याउन सकिएन । बसपार्कको हालत देख्दा निकै दुःखी हुने अवस्था छ ।’ सुन्दर सहरको वैभव बचाउने दिशामा यहाँका नेतृत्वकर्मी असफल देखिएको र बसपार्कको अस्तव्यस्तले यात्रुले सास्ती खेप्नुपरको थापाको भनाइ छ ।

बसपार्कको जग्गामा अहिले ४ सय २४ सुकुम्बासीका घरटहरा छन् । २०४६ सालअघि ६४ घर रहेकामा अहिले बढेर त्यति पुगेका हुन् । उनीहरूमध्ये कास्की ठेगाना भएका १६४ रहेका र ९९ प्रतिशतले सुकुम्बासी परिचयपत्र पाएका छन् । कतिपयले ती टहरा भाडामा दिएको र कतिपयले लाखौं रुपैयाँमा बिक्री पनि गर्छन् । तीबाहेक अन्य दर्जनौं पक्की घर पनि बसपार्क क्षेत्रमा बनेका छन् । नगर विकास समितिले पटकपटक बसपार्क बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!