कास्कीमा फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु

Posted on: 26 Dec, 2016

पुस ११, पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीले आजबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गरेको छ । 

आसन्न स्थानीय तह वा निकायको निर्वाचनलाई मध्यनजर गरी मतदाता नामावली सङ्कलन सुरु गरिएको र यसका लागि छ टोली खटाइएको कार्यालयका प्रमुख गङ्गाप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

टोलीले कार्यस्थलमा गएर उमेर पुगेका मतदाताको नाम दर्ता, त्रुटि देखिएको विवरण सच्याउने, मृत्यु तथा बसाइँसराइ गरेका मतदाताको नामावली मतदाता सूचीबाट हटाउनेछ । त्यस्तै दोहोरो मतदाता नामावली भएका मतदाताको नाम एक ठाउँमा राख्ने काम टोलीले गर्ने छन् । 

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा ३२ गाविस भएको सो जिल्लामा खटिएको टोली गाविस कार्यालय तथा नगरपालिकाको वडा कार्यालयमा गई दुई दिनसम्म बसेर नामावली सङ्कलन गर्ने बताइएको छ । 

कास्कीमा मङ्सिर मसान्तसम्म दुई लाख २३ हजार ११९ मतदाता रहेका छन् । जसमा पुरुष एक लाख तीन हजार ५६२, महिला एक लाख १९ हजार ५५२ र तेस्रोलिङ्गी पाँचजना रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!