अग्निपिडित विद्यार्थी परिवारलाई देउराली सोसाईटीद्धारा राहत

Posted on: 28 Dec, 2016



अमृत बास्तोला/पुस १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित विद्यार्थी बालबालिकाहरुलाई बुधबार देउराली सोसाईटी तेह्रथुमले राहत सामग्री उपलब्ध गराएको छ । 

सोसाईटीले संक्रान्तिबजार स्थित ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपिडित ५० जना विद्यार्थी, ८ जना विद्यालय जान उमेर नपुगेका बालबालिका, ४ जना गर्भवति महिला र ९ जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

पिडित विद्याथीहरुलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाक, थर्मस, विद्यालय नजाने बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा, ग्यास चुलो, प्रेसर कुकर, थर्मस र गर्भवती महिलालाई कुकर र थर्मस गरि १ लाख ९२ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको देउराली सोसाईटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सोसाईटी अध्यक्ष दिनेश कुमार खनालले पिडाको घडीमा साहानुभूती स्वरुप राहत वितरण गरिएको बताउनु भयो । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा जलजला समाजको विस्तारित देउराली सोसाईटीले खानेपानी तथा सरसफाई, सुधारिएको चुलो र स्थानिय अधिकार कार्यक्रम अन्र्तगत कृषि, शिक्षा, बालबालिका, महिला र सुसाशनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष खनालले बताउनु भएकोछ । 

गत पुस १ गते भएको भिषण आगलागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवारका ८ बालबातिका, ४ गर्भवति महिला, ५० विद्यार्थी, ९३ महिला सहित १७८ जना विस्थापित भएका छन् । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!