डोटीका अधिकांश गाउँ युवाविहीन

Posted on: 31 Dec, 2016

पुस १६, डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । 

खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् । 

डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भन्नुभयो, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के गर्ने, घरमा एक्ली श्रीमती र साना दुई छोराछोरी छन्, यतै दिपायलतिर सानो काम पाइए पनि गर्थेँ ” उहाँले थप्नुभयो, “यहाँ काम नै छैन, भए पनि छाक धान्न नसकिने तलबमा काम गर्नुपर्छ ।” 

चवरा चौताराकै गगन बोहरा पहिला दीपायलमा बसेर काम गर्नुभएको तर हाल उहाँ भारत जाँदैहुनुहुन्छ । नेपालमा भनेअनुसारको तलब सुविधा नभएको उहाँको भनाइ छ । “महिनौँ काम गरेर घरमा खान ठिक्क हुन्छ, साहुको ऋण तिर्नै प¥यो” गगनले भन्नुभयो, “यो बुढेसकालमा घर नजिकै सानो काम पाइए पनि गर्ने थिएँ ।” 

सो गाविसका करिब ७५ प्रतिशत युवा अहिलेसम्म विदेश पलायन भएका छन् । त्यहाँका मात्र नभई जिल्लाभरिमै ६५ प्रतिशतभन्दा बढी युवा रोजगारीका सिलसिलामा बाहिरिएका छन् । जिल्लामा हुने विकास निर्माणका कार्यमा पूर्वाधार खडा गर्न छिमेकी जिल्ला कैलाली तथा भारतबाटै मिस्त्री ल्याउनुपर्ने बाध्यता रहेको छ । 

एक त यहाँका जनतामा सीप नहुनु र अर्कातर्फ पढाइ छाडेर सानै उमेरमा भारत जाने गर्नाले सो समस्या आएको दिपायलका ठेकेदार रमेश खडायतले बताउनुभयो । उहाँले कुनै पनि संरचना निर्माण कार्यमा डोटीमा महिला मात्रै हुने र पुरुष नपाइने गरेको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!