घरैमा पुगेर सरकारी सेवा

Posted on: 11 Jan, 2017

पुस २७, तेह्रथुम । इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले पूर्ण अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । 

कार्यालयका प्रमुख सफल पोर्तेलसहितको एक टोलीले मङ्गलबार संक्रान्तिबजार–९ बस्ने पूर्ण अपाङ्ग २१ वर्षे नरेन्द्र चिमरिया र उनकी दिदी २८ वर्षे सीतादेवी चिमरियालाई नागरिकता वितरण गरेको हो । 

यस्तै ९० वर्षे नरेन्द्रकी हजुरआमा पवित्रादेवीलाई पनि सामाजिक सुरक्षा भत्ताका लागि नेपाल बङ्गलादेश बैँकको संक्रान्तिबजार शाखा प्रबन्धक टङ्क लिम्बूले खाता खोली दिनुभएको छ । 

दुई अपाङ्ग दिदीभाइको जन्मदर्तासमेत नहुँदा यसअघि सरकारले दिने सेवा सुविधाबाट वञ्चित भइरहेको खबर पाएपछि घरैमा गएर जन्मदर्तासँगै नागरिकता समेत दिइएको संक्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । 

टोलीमा काँग्रेस गाउँ सभापति भोला काफ्ले, मालपोत संक्रान्तिबजार शाखा प्रमुख कुलप्रसाद दाहाल, सशस्त्र प्रहरी बेसक्याम्प प्रमुख देबेन्द्रबहादुर थापा, गाविस सचिव चित्रकुमार भट्टराईलगायत सहभागी थिए । 

बैंकमार्फत मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था भएपछि जिल्ला विकास समितिले संक्रान्तिबजारलगायत यहाँका सात गाविसलाई नेपाल बङ्गलादेश बैंकबाट भत्ता वितरण गर्ने व्यवस्था गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!