कालिकोटमा चिसोसंगै दाउराको माग बढ्यो

Posted on: 11 Jan, 2017


दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट लगायत कर्नालीका हिमाली तथा पहाडी भेगमा हिउ पर्न थाली चिसो बढेपछि न्यानोताको लागि दाउराको माग बढेको हो । 

जिल्लामा खाना पकाउने ग्यासको बढ्दो बजार र बनजंगलमा प्रयाप्त दाउराको अभावका कारण प्राय होटलहरुमा मात्र दाउराको माग हुने जिल्ला सदरमुकाम मान्ममा हिजो आज चिसो ह्वात्तै बढेपछि आगो ताप्न तथा घरको कोठा समेत न्यानो गराउन दाउराको माग बढेको छ ।

चिसोमा आगो ताप्न जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु समेत दाउरा खरिद गरी आगो ताप्न थालेका छन् । जिल्ला सदरमुकाम मान्ममा विद्युतको पहुँच भएपनि अप्रयाप्त विद्युतपावर तथा जिल्लामा हिटर आपूतिको अभावका कारणले पनि आगो ताप्त दाउराको माग बढेको जिल्ला प्रशासन कार्यालयका कालिकोटका कार्यालय सहायक हरिन्द्र नाथ योगी बताउनु हुन्छ ।

बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु ह्वात्ते बढ्ने भएकाले चिसोबाट बच्न न्यानो कपडा सहित तातोमा रहन जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि जिल्लामा ह्वात्तै बढेको चिसोमा जाड रक्सीको सेवनमा बृद्धि भै झैझगडा बढ्ने भएकाले यसमा सतर्क रहन होटल ब्यवसायी मदिरा ब्यापारी लगायत सम्पूर्ण सरोकारवाला निकायहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!