परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाली जनता

Posted on: 12 Jan, 2017

कविता उपाध्याय/पुस २८, रोल्पा । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् ।

यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् । लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उहाँका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसक्नुभएको छ । 

तीन सन्तानको सानैमा मृत्यु भएको भएपनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिनुभयो । 

उहाँका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उहाँबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन । 

“आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिनुभयो । 

त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उहाँका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसक्नुभएको छ । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उहाँहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान (नातिनातिनी) जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी हुनुभएको छ । 

यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उहाँहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाउनुभयो तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरीे जन्मियो । महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भएपनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् । 

करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आउनुभएको छ । 

लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उहाँका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भएपनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उहाँहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । 

जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिनुभयो । उहाँका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दैआएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ । 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०/७१ मा ४७ प्रतिशत, २०७१/७२ मा ३९ प्रतिशत र २०७२÷७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पु¥याउने सरकारको लक्ष्य रहेपनि हाल सम्म यो सङ्ख्या आधाआधीकै हाराहारीमा छ । 

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउनुहुन्छ । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!