गुल्मीमा जिप दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते

Posted on: 14 Jan, 2017

माघ १, गुल्मी । बुटवलबाट गुल्मीको थानपतीतर्फ आउँदै गरेको जिप शनिबार गुल्मीको थोर्गामा दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते भएका छन् । 

बा ७ च ७७८३ नम्बरको जिप शनिबार माघे संक्रान्तिको अवसर पारेर रिडीको कालीगण्डकीमा स्नान गरेर घर आउने क्रममा थानपती गाविस-२ स्थित थोर्गामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक केशवराज भट्टराईले जानकारी दिए । 

तीब्र गतिमा गुडेको जिप घुम्तीमा मोड्ने क्रममा सडकदेखि एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जिप चालक २३ वर्षका सुनिल गौतम, सागर गौतम, आकाश गौतम, समिर गौतम, आर्यान गौतम, आष्मा गौतम, अस्मिता गौतम र सुनिता ज्ञवाली रहेका छन् । 

घाइतेमध्ये सुनिता, अस्मिता र आष्माको अवस्था गम्भिर रहेको कारण उनीहरुलाई थप उपचारका लागि पाल्पास्थित मेडिकल कलेज प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये तीनजनालाई टाउको र हात खुट्टामा गम्भिर चोट लागेको छ । अरु घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!