एचआइभी सङ्क्रमित तीन सयभन्दा बढी

Posted on: 15 Jan, 2017

माघ २, पाल्पा | एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । 

जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । 

समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले अझै पनि सङ्क्रमित खुल्न नसकेको उदाहरण दिँदै सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गर्नुभयो । 

सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!