उदयपुरको रामपुरमा अजिङ्गर भेटियो

Posted on: 18 Jan, 2017

माघ ५, उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ ।

रामपुर ठोक्सिलाको माछापुछ्रे्र बनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताउनुभएको छ । 

फेला पारिएको उक्त अजिङ्गरलाई आफूले रामपुरकै राष्ट्रिय वन बेलकातरी वनमा लगेर छाड्न निर्देशन दिएको र प्रहरी र वनका कर्मचारीले बेलाकातरी वनमा लगेर सुरक्षित स्थानमा छाडेको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताउनुभयो । 

उदयपुर जिल्ला पूर्वकै सबैभन्दा ठूलो वन क्षेत्र भएको जिल्ला हुनाले यस जिल्लाको चुरे महाभारत क्षेत्रमा धेरै अजिङ्गरको वासस्थान समेत रहँदै आएको पनि वन कार्यालयका प्रमुख बरालले बताउनुभएको छ । 

तर यतिको ठूलो अजिङ्गर भेटिएको भने यो पहिलो पटक भएको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!