हावाबाट पानी सङ्कलन प्रविधि बिग्रंदा तीनजुरे क्षेत्रमा संकट

Posted on: 19 Jan, 2017

प्रकाश धौलाकोटी/माघ ६, तेह्रथुम । गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानीको चरम अभाव भएको हो । 

स्वच्छ पिउने पानी नपाउँदा यहाँ आइपुग्ने पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई समस्या भएको घुर्मिसेका डिकबहादुर पौडेलले बताउनुभयो । “एक दशकदेखि कुहिरोबाट पानी जम्मा गरेर उपभोग गर्दैै आएका थियौँ”, पौडेलले भन्नुभयो, “अहिले कुहिरोबाट पानी जम्मा हुने प्रविधि बिग्रिएपछि हामी यहाँका बासिन्दासँगै पर्यटक, पाथीभरामा आउने दर्शनार्थी र पैदलयात्रीलाई खानेपानीको समस्या छ ।” 

प्रायजसो चौबिसै घन्टा कुहिरोले ढाक्ने यहाँका डाँडाकाँडालाई लक्षित गरी तीनजुरे पाथीभरा नजिकै कुहिरोबाट पानी जम्मा गर्ने जाली राखेर ट्याङ्की र धारा निर्माण गरिएको थियो । उतिबेला स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले रु १८ लाखको लागतमा निर्माण गरिदिएको सो प्रविधिले दुई वर्षअघि सम्म पानी पिलायो । तर अहिले सो प्रविधिको मर्मतसम्भारका लागि प्राविधिक नहुँदा तथा मर्मत सामग्री महँगो पर्दा आफूहरुलाई पुनः खानेपानी समस्या जस्ताको तस्तै भएको स्थानीयवासीको गुनासो छ । 

दुईहजार आठसय मिटरदेखि माथिको उचाइमा रहेका यी स्थानमा पिउने पानीका अरू कुनै मुहान छैनन् । न त कतैबाट पानी ल्याउन सक्ने अवस्था नै छ । खानेपानीको समस्या भएपछि दशकअघि कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि जडान गरिएको भए पनि अहिले बिग्रिएर पुनः मर्मत गर्न नसक्दा समस्या भएको तीनजुरे पाथीभरा मन्दिर फेदीका व्यापारी युवराज खड्काले बताउनुभयो । 

यी बस्तीका बासिन्दाले एक गाग्री पानी ल्याउन एक घन्टा ओरालो झरेर उकालो चढ्नुपर्ने बाध्यता रहेको छ । हावाबाट पानी जम्मा हुने प्रविधि मर्मत नभएर बिग्रिएपछि आफूहरुले सास्ती बेहोर्नु परेको स्थानीयवासी धु्रव खड्काले बताउनुभयो । प्रविधि बिग्रिएपछि सबैभन्दा बढी तीनजुरे डाँडामा रहेको पाथीभरा भगवती देवीको दर्शन गर्न आउने भक्तजन मारमा परेका छन् । 

“मन्दिर छेउको डाँडामा पानी सङ्कलन गर्न जडान गरिएको महँगो मूल्यका दुईवटा जाली थोत्रिएका छन्् जसले गर्दा ट्याङ्कीमा पानी जम्मा नै हुँदैन, भक्तजनलाई साह्रै दुःख भयो”, खड्काले भन्नुभयो । यो क्षेत्रका यी बस्ती कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका हिमाल आरोहण पदमार्गमा पर्छन् । यही मार्ग भएर ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाने पैदलयात्री पनि धेरै हुने गरेका छन् । 

यस्तै, ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित यहाँको सानो तीनजुरे पाथीभरा मन्दिरमा पनि दैनिक सयौँको सङख्यामा भक्तजन आउने गरेका छन् । तर पानी नहुँदा तीर्थयात्रीले पूजाआजापछि खानका लागि पनि बोतलमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी दावा शेर्पाले बताउनुभयो ।

पानी अभावका कारण पाँचपोखरीका २० परिवार आफ्नै पुरानो थातथलो फर्किएका छन् । पानी नभएपछि दैनिकी गुजार्न तथा गाईगोठ चलाउन र व्यापार–व्यवसाय गर्न समेत समस्या भएपछि उनीहरु गाउँ फर्किएको पाँचपोखरीका डम्बरबहादुर बुढाथोकीले बताउनुभयो । 

पहिले पाँचवटा पोखरी भएको आधारमा यो बजारलाई पाँचपोखरी भनिएपनि अहिले पोखरी सुकेर यहाँका बासिन्दालाई पिउनेपानीकै चरम अभाव भएको हो । खानेपानी समस्या भएपछि यहाँ बस्दै आएका बासिन्दा धमाधम तलतिर बसाइँ सर्न थालेका छन् । 

पूर्वकै आकर्षक गन्तव्य मानिने यी क्षेत्रमा पिउनेपानीको दीर्घकालीन व्यवस्था नभए पर्यटक पनि नआउने निश्चित छ । तर यहाँका स्थानीयवासीसँगै पर्यटकका लागि समेत सेवा पुग्ने गरी खानेपानीको सहज पहुँच दिलाउन अहिलेसम्म कसैको ध्यानाकर्षण भएको छैन । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!