पुर्नःस्थापना नगरिदा डडेल्धुराको अशिग्रामका मुक्त हलियाहरु जङ्गलकै बास

Posted on: 19 Jan, 2017

रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताउनु भएको छ ।

        चिसोसँगै ओढ्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या भएको उनीहरुको गुनासो छ । चिसोका कारण सो समुदायमा बढी जसो बालबालिका र वृद्धवृद्धा मारमा परेका छन । साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको अर्का मुक्त हलिया लालबहादुर सार्कीको गुनासो छ । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!