शैक्षिक गुणस्तर सुधारकालागि धार्मिक महोत्सव सन्चालन हुने

Posted on: 20 Jan, 2017

प्रकाश धौलाकोटी/माघ ७, तेह्रथुम । तेह्रथुमको हमरजुङ गाउँ विकास समिति वार्ड नं. ७ स्थित सरस्वती माविलाई जिल्लाकै नमुना शैक्षिक संस्था निर्माण गर्न सहयोग जुटाउने उदेश्यले विद्यालयले ‘तेह्रथुम छथर शुक्रबारे शैक्षिक तथा धार्मिक महोत्सव’ गर्ने भएको छ । 

विद्यालयलाई जिल्लाकै नमुना अत्याधुनिक सेवा सुविधायुक्त प्राविधिक शिक्षा सहितको विद्यालय बनाउन धार्मिक महोत्सव अर्थात् साता व्यापी अष्ट ज्ञान महायज्ञ सन्चालन गर्न लागिएको प्रधानाध्यापक टिकाराम बस्नेतले जनाए । 

महायज्ञबाट सहयोग संकलन गरी विद्यालयको भौतिक पुर्वाधारलाई पुर्णता दिने, आधुनिक पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब कक्ष स्थापना, सुविधा सम्पन्न शौचालय, श्रव्य दृश्य शैक्षिक सामाग्रीको व्यवस्थापन लगायत गर्ने योजना निर्माण गरिएको प्रअ बस्नेतले बताए । 

यस्तै विद्यालयमा सिसि टिभी जडान, आकर्षक विद्यालय भवन निर्माण, आधुनिक कक्षा कोठा, बैठक कक्ष व्यवस्थापन, यस क्षेत्रका राम्रो हल निर्माण, खेल मैदान तथा खेल पुर्वाधार विकास, पौष्टिक सन्तुलनसहितको क्यान्टिन निर्माण, पार्किङ एरिया लगायत व्यवस्थापन गर्ने समेत योजनाहरु निर्माण गरिएको छ । 

विद्यालयमा आधुनिक सेवा सुविधासहितको छात्रावास निर्माण गर्ने र प्राविधिक शिक्षासहितको ५ हजार बढी विद्यार्थी अध्ययन गर्नसक्ने शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना बनाइएको उनले बताए । महोत्सवबाट विद्यालयको सो अवधारणालाई आम शिक्षाप्रेमी, अभिभावक, समाजसेवीहरुमा यी योजनाहरुबारे छलफल गर्दै सहयोग संकलन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कटुवालले बताए । 

महोत्सव तथा महायज्ञ फागुन १५ देखि २२ गतेसम्म सन्चालन हुनेछ । महोत्सवबाट ३ करोड रुपैयाँसम्म उठाउन सके विद्यालयलाई प्रदेश नं. एक कै शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको उनले बताए । उनले सबै शिक्षाप्रेमी, समाजसेवी तथा अभिभावकहरुमा आफुहरुको सो अभियानमा साथ दिन आग्रह गरे ।

 महोत्सवमा अवसरमा हुने महायज्ञमा ५१ सय शान्ति कलशको हवन तथा पुजा, सांगीतिक कार्यक्रमहरु हुनेछन् । महोत्सवमा स्थानीय, पुर्वान्चलस्तरीय साथै राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । महायज्ञमा श्री गोविन्दशरण महाराज र मधुरबाणीकी धनी मिरादेवीबाट धार्मिक प्रवचन हुने कार्यक्रम तय भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!