मणिलेक साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या दश

Posted on: 20 Jan, 2017

धुर्ब बिष्ट, माघ ७, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरामा साक्षर गाविसको संख्या १० पुगेको छ । शुक्रबार जिल्लाको मणिलेक गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १० पुगेको हो । ‘डडेल्धुरा जिल्लाको दशौ साक्षर गाविस मणिलेकको शान, साक्षर मणिलेक गाबिसबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये मणिलेक गाविसले गाविसमा रहेका १५ देखि ६० वर्ष उमेरका कुल जनसंख्या ३ हजार २ सय ६८ जना मध्ये ३ हजार १ सय २५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषण गरिएको सामुदायिक सिकाई केन्द्र मणिलेकका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनु भएको छ । जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र मणिलेकको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्री प्रमुख अथिति रहनु भएको उक्त औपचारिक कार्यक्रममा बिशिष्ट अथितिको रुपमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी खत्रीले यस क्षेत्रको शिक्षाको बिकासका लागि आफु जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो । मणिलेक गाबिसको बगालमा सम्पन्न औपचारिक घोषणा समारोहमा जनचेतनामूलक नाटक तथा बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि गत मगंलबार मात्रै कैलपालमाण्डौ गाबिसलाई जिल्लाको नवौँ साक्षर गाबिस घोषणा गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!