तेह्रथुमका नौ क्रियाशील पत्रकार पुरस्कृत हुने

Posted on: 26 Jan, 2017

माघ १३, तेह्रथुम । तेह्रथुमका विभिन्न सञ्चार माध्यममा कार्यरत नौ जना पत्रकार एक साथ पुरस्कृत हुने भएका छन् । 

नेपाल पत्रकार महासंघ तेह्रथुमले साधारण सभा तथा अधिवेशनको अवसरमा तेह्रथुम पत्रकारिता पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार र सहयोगी आर्थिक पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष उद्धव तिम्सीनाले बताउनुभयो ।

‘तेह्रथुम पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२ र ०७३ मा क्रमशः मनु याक्थुङवा, प्रकाश पाक्सावा र अमृत बास्तोला पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशी १३ हजार रुपैयाँ छ । यस्तै ‘क्रियाशील पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२, ०७३ मा क्रमशः यशोदा चेम्जोङ, आशा तुम्बाहाम्फे र कल्पना आङबुङ पुरस्कृत हुने भएका छन् ।

यसको राशी ७ हजार रुपैयाँ छ । यस्तै एक हजार रुपैयाँ राशीको सहयोगी ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट २०७१, ०७२ र ०७३ मा क्रमशः धनु तामाङ, तुलसीराम धमला र ऋिचा लिम्बु पुरस्कृत हुने भएका छन् । तेह्रथुम पत्रकारिता पुरस्कार तेह्रथुमको सोल्मा घर भई हाल अष्ट्रेलियामा कार्यरत समाजसेवी श्रीमती राधिका पोखरेल र उनका श्रीमान् सन्जिप सापकोटाले स्थापना गरिदिएका हुन् ।

सो कोषमा १ लाख रुपैयाँ, रहेको छ । यस्तै ५० हजार रुपैयाँको अक्षयकोष रहेको क्रियाशील पत्रकारिता पुरस्कार म्याङलुङ्ग–१ बस्ने समाजसेवी तथा सिंहवाहिनी माविका प्रधानाध्यापक तेजबहादुर कार्की र श्रीमती उमा कार्कीले स्थापना गरिदिएका हुन् । सहयोगी आर्थिक पत्रकारिता पुरस्कार कोषमा म्याङलुङ्गको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार रुपैयाँ राखी स्थापना गरिदिएको छ ।

०७१ सालका तीन वटा पुरस्कार माघ २५ गते र बाँकीलाई फागुन ७ गते छुट्टा–छुट्टै समारोहका बीच पुरस्कार वितरण गरिने अध्यक्ष तिम्सीनाले जनाए । विहीबार बसेको महासंघको कार्यसमिति बैठकले महासंघ केन्द्रीय समितिले जिल्ला अधिवेशनकालागि निर्धारण गरेको मिति २०७३ साल फागुन ७ गते नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

अधिवेशन न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केशीको प्रमुख आतिथ्यतामा हुने समेत अध्यक्ष तिम्सीनाले बताउनुभयो । जिल्लामा हाल ३ वटा रेडियो, एउटा दैनिक पत्रिका, ३ वटा साप्ताहिक पत्रिका र तीन वटा अनलाइन पत्रिकाहरु सन्चालित छन् । महासंघमा ७० बढी पत्रकारहरु आवद्ध रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!