डडेल्धुरामा खानेपानीको सङ्कट, सर्वसाधारण खोलाको फोहर पानी पिउन बाध्य

Posted on: 28 Jan, 2017

माघ १५, डडेल्धुरा । लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । 

डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ । 

मष्टामडौँ–९ गौली गाउँमा एउटै धाराबाट ४१ परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भएपनि पानी मूलबाट नै कम आउन थालेपछि झनै समस्या भएको छ । ती परिवारले बस्ती नजिक रहेको खोलमा गएर पिउने पानी ल्याउने गरेका छन् । “पानीका लागि घन्टाँै लाममा बस्नुपर्छ घरको काम अधुरै छोडी पानीका लागि रातिदेखि नै लाममा लाग्न बाध्य छौं,” गौली गाउँकी हरिना विष्टले भन्नुभयो । 

“पहिले पानी दिनभर उपभोग गरेर पनि करेसा बारीमा सिँचाइ गर्न पुग्थ्यो हिउँदमै पानीका मूल सुकेर खानेपानी आपूर्ति गर्न धौधौ भइरहेको छ,” लामिकाडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्ल बताउनुभयो । 

पहाडी जिल्लामा धेरै वर्षा नभएको तीन महिनाभन्द बढी भइसकेको छ । लामो खडेरीले गर्दा महाभारत पर्वत शृङ्खलामा रहेका पानीका अधिकांश मूल सुकिसकेका छन् भने मध्य पहाडी क्षेत्रमा खानेपानीको स्रोतका रुपमा बग्ने खोला समेत सुक्न थालेको अध्यक्ष मल्लको भनाइ रहेको छ । डडेल्धुराका विभिन्न चिपुर, भद्रपुर, देवल, कोटेली, भागेश्वर मणिलेक र नगरपालिकाको विभिन्न ग्रामीण बस्तीमा पानीको सङ्कट देखिएको छ । 

“गाउँ गाउँमा खानेपानीका योजना धेरै छन् र सरकारी तथा गैरसरकारी क्षेत्रवाट बर्सेनि ठूलो रकम खानेपानी क्षेत्रमा खर्च हुन्छ तर निर्माण सम्पन्न भएका योजनामा पनि अर्को वर्ष पानी आउँदैन,” कोटेली–३ का स्थानीयबासी रुद्रप्रसाद भट्टले जानकारी गराउनुभयो । खानेपानी क्षेत्रमा काम गर्ने निकायले योजनासँगै खानेपानीका स्रोत संरक्षणका लागि समेत काम गर्नुपर्ने भट्टको सुझाव छ । 

खडेरीले गर्दा जमिनमुनि पानी ‘रिचार्ज’ हुन नसक्दा हिउँद नसकिँदै यस्तो समस्या उत्पन्न भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक रामदत्त जोशीले बताउनुभयो । जमिनमुनि पानीको मात्रा पनि घट्दै जानु र ‘रिचार्ज’ हुने क्षमता पनि सकिँदै जानु जस्ता कारण मध्य पहाडी क्षेत्र गम्भीर समस्या उत्पन्न हुन सक्ने उहाँले आँैल्याउनुभयो । 

हिउँद नसकिँदै यस्तो सङ्कट देखिनुले खडेरी अझै बढ्ने र गर्मीयाममा खानेपानीको झन् बढी सङ्कट हुनसक्ने खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख सुरजकुमार कैजुले बताउनुभयो । लामो खडेरीले गर्दा मुहान र स्रोत सुकेर समस्या उत्पन्न भएको कैजु बताउनुहुन्छ । 

पानीको चक्रीय प्रणालीअनुसार हरेक पाँच वर्षमा खडेरीको मात्रा बढ्ने र पानीको समस्या उत्पन्न हुने भएकाले मूलको सरंक्षण र सम्बद्र्धन गर्न खानेपानी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!