रक्त क्यान्सरपीडितका लागि सहयोग संकलन

Posted on: 01 Feb, 2017

माघ १९, बाबियाचौर (म्याग्दी) | म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ । 

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षीया भण्डारीको उपचारका लागि मङ्गलबारदेखि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन संस्थाका पदाधिकारी तथा संस्थापकबाट रु ३१ हजार सहयोग प्राप्त भएको छ । 

दुई छोरा र दुई छोरीकी आमा भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरिएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । “चिकित्सकका अनुसार रु १५ लाख जुटाउन सकेमा उपचार सम्भव छ”– शाक्यले भन्नुभयो “कोषको यो २७ औँ अभियान हो ।” 

कोषले यसअघि २६ जना आर्थिकरुपमा विपन्नको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीमार्फत करोडाँै रुपैयाँ सहयोग जुटाएको छ । भण्डारीको चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रोजगारीका लागि एक वर्षअघि कतार गएका फूलमायाका श्रीमान् रोशन पनि स्वदेश फर्किएर उनको उपचारमा जुटेका छन् । 

भण्डारीको उपचारका लागि परिवार र आफन्तले हालसम्म रु चार लाख खर्च गरिसकेको दाजु दलबहादुर खत्रीले बताउनुभयो । “घरजग्गा धितो, ऋण र परिवारसँग भएको पैसा सकिएकाले सहयोग गरी जीवनरक्षाका लागि अपिल गरेका हौँ– खत्रीले भन्नुभयो । 

कोषले सन्तोष गौतमको संयोजकत्वमा १२ सदस्यीय फूलमाया बचाउ अभियान सञ्चालन गरेको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!