वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

Posted on: 02 Feb, 2017

माघ २०, तेह्रथुम । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ । 

तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा भए पनि बढी जोखिम मोल्नुपर्ने भएपछि आएका पर्यटक पनि वसन्तपुरबाटै फर्कने गरेका छन् । 

“सबै कुरा भौतिक विकास मात्र होइन रहेछ,” बसन्तपुरका मिलन थापाले भन्नुभयो, “सडकको विस्तारसँगै पर्यटकीय यो थलो ओझेलमा प¥यो ।” नेपाल पर्यटन बोर्डले गरेको नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत यो क्षेत्र यतिबेला सडक विस्तारका कारण क्षतविक्षत् भएको उहाँले बताउनुभयो । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टिएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिँदै गएको छ । 

वर्षको छ महिना कुमारी रहने टिएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरूप बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिले जनाएको छ । यो क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । 

एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण सङ्कटमा परेको पदमार्गमा रहेको चौकी बजारका सुरेशकुमार पाठकले बताउनुभयो । “पदमार्ग भएर आउने पर्यटकले प्राकृतिक विविधतालाई नजिकबाट हेर्न रुचाउँछन्” – काठमाडौँको धापासीमा रहेको एडभेन्जर गो ट्रेक टाभल्स एन्ड टुर्सका पर्यटन व्यवसायी तथा पथप्रदर्शक लाक्पा शेर्पाले भन्नुभयो । उहाँ विदेशी पर्यटकलाई घुमाउन यस क्षेत्रमा समय समयमा आइरहनु हुन्छ । 

यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारीका साधन सञ्चालन हुन थालेका छन् । पदमार्ग भएर हिँड्दा पाइने प्राकृतिक आनन्द मोटर बाटोमा नपाइने जर्मनीको एक कारागारमा प्रहरी अफिसरका रूपमा काम गर्ने स्टेफिन सेलीले बताउनुभयो । “पदमार्ग मासिएपछि यहाँको पर्यटन व्यवसायमा पनि असर पर्न सक्छ” – उहाँले भन्नुभयो । 

मोटरबाटो निर्माणका कारण यहाँसम्म आइपुगेका पर्यटक आफ्नो बसाइ अवधिसमेत घटाउन थालेका छन् जसले गर्दा स्थानीय स्तरमा यसअघि हुने आर्थिक कारोबारमा समेत कमी आएको चौकी बजारका होटेल व्यवसायी उदयकुमार लोले बताउनुभयो । उहाँका अनुसार पर्यटकको बसाइ अवधि छोटिएकाले पहिलेको तुलनामा व्यापारिक कारोबारमा समेत ह्रास आएको छ । 

यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राख्ने आधिकारिक निकाय नभए पनि गत वर्षको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीय बासिन्दाको अनुभव छ । पर्यटकको आकर्षण देखेर यो पदमार्गको दर्जनौँ स्थानमा खुलेका बजारमा समेत अहिले कारोबार न्यून छ । वर्षको तीन महिनासम्म फुलिरहने २८ भन्दा बढी प्रजातिका गुराँस, विविध प्रजातिको कुहिरे वन, लोपोन्मुख जडीबुटी र वन्यजन्तु, सिमसार, पोखरी तथा चराचुरुङ्गी र मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका पर्यटकीय आकर्षण हुन् । यो क्षेत्र कुम्भकर्ण, मकालु र कञ्चनजङ्घा हिमाल आरोहण गर्न जानेहरुको पदमार्गसमेत हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!