बेनीमा बिपी स्मृति भवन निर्माण गरियो

Posted on: 03 Feb, 2017

माघ २१, म्याग्दी । म्याग्दीको बेनीमा बिपी स्मृति भवन निर्माण गरिएको छ । 

जिल्लास्थित नेपाली काँग्रेसले सदरमुकाम बेनीमा कार्यालयका लागि रु ८० लाख ५८ हजार ४२५ को लागतमा सो भवन निर्माण गरेको हो । 

बेनीको सङ्गमचोकमा रु ५१ लाख मा खरिद गरेको तीन आना एक पैसा दुई दाम क्षेत्रफलमा रु २९ लाख ५८ हजार ४२५ को लागतमा दुई तले पाँच कोठे भवन निर्माण गरेको पार्टीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिनुभयो । 

पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकबाट आर्थिक स्रोत जुटाएर जग्गा खरिद र भवन निर्माण गरेको उहाँले बताउनुभयो । भवनमा सभापति, पदाधिकारी र भ्रातृ सङ्गठनका छुट्टाछुट्टै कार्यकक्ष छ । 

यसअघि बाल मन्दिरचोकमा रहेको सो पार्टीको कार्यालय बुधबारदेखि नयाँ भवनमा सारिएको छ । पार्टीको आफ्नै भवन भएपछि कार्यालय सञ्चालन, बैठक, प्रशिक्षण, कार्यकर्ता भेलालगायतका कार्यक्रम आयोजना गर्न सहज भएको पार्टी सभापति खम्बिर गर्बुजाले बताउनुभयो । 

भवनको छतमा ट्रस राखेर सभाहल बनाउने योजना छ । तत्कालीन सभापति स्व सुशील कोइरालाले शिलन्यास गर्नुभएको भवन वर्तमान सभापति शेरबहादुर देउवाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली पार्टीका सदस्य माधवप्रसाद रेग्मीले बताउनुभयो । 

म्याग्दीमा क्रियाशील राजनिनितिक दलमध्ये नेपाली काँग्रेस र एमालेको मात्र आफ्नै भवन छ । यसअघि नेकपा (एमाले)ले कार्यालय प्रयोजनका लागि बेनीको हाँडेभिरमा पुष्पलाल स्मृति भवन निर्माण गरेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!