बाँकेमा तीन महिनामा दुई सयलाई वैवाहिक अङ्गीकृत नागरिकता

Posted on: 07 Feb, 2017

मागह २५, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । 

नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय बाँकेले अघिल्लो आवमा एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो । 

नेपालीसँग विवाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइए पनि वास्तविकता उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारी बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ । 

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ । 

हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ । 

नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यालयका अनुसार अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!