लमजुङमा परिवार नियोजन प्रयोगकर्ता बढे

Posted on: 07 Feb, 2017

माघ २५, लमजुङ । लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ । 

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् । 

गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताउनुभयो । 

जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र रहेको थियो । तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए । अघिल्लो आव ०७१÷७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत रहेको थियो । 

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले भन्नुभयो “सङ्ख्यात्मक रुपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ तर ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगती भएको छ ।” 

पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । “पुरुषले प्रयोग गर्ने भन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्” चापागाईले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!