जाजरकोट र रुकुमका ग्रामीण बस्ती अन्धकारमा

Posted on: 17 Feb, 2017

फागुन ६, जाजरकोट । यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् । 

उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन्धकार भएका हुन् । १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा निर्माण गरिएको हो । यो आयोजना निर्माण भएसँगै भगवती–९ सिउना र रुकुमको गोतामकोट–९ मन्का बगरका झन्डै एकसय ५० भन्दा बढी घरधुरीका स्थानीयवासीले बत्ती पाल्न पाएका छैनन् । 

आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ भएको थियो । बजेट अभावका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकेको उक्त लघुजलविद्युत् आयोजनाका निर्माण उपभोक्ता अध्यक्ष हर्कबहादुर बोहराले बताउनुभयो । 

विद्युत्का पोल सल्लीका काठका भएकाले कुहिएर बिस्तारै ढल्दै गएका छन् । पोल ढल्दा बाटोमा तार लत्रिएकाले मान्छे र पशुचौपायालाई आवतजावत गर्न समस्या भएको बोहराले बताउनुभयो । ग्रामीण क्षेत्रमा भएका कारण विद्युत्का सामग्री लिन र ल्याउन पनि सास्ती हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!