डडेल्धुराको कोटलीमा एक यूवकको खुकुरी प्रहार गरी हत्या

Posted on: 19 Feb, 2017

ललित बोहरा । डडेल्धुरा फागुन ८  । डडेल्धुराको कोटेलीमा खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएर भएको झडपमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबिच झडप भएको हो । झडपको क्रममा कोटेली गाबिसका ईन्सेक संयोजक समेत रहेका साउदको ज्यान गएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । झडपको क्रममा भीमबहादुरले शेरबहादुरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । त्यहाँ लामोसमयदेखि खानेपानीको विषयमा विवाद भएको थियो । आइतबार बिहान साढे सात बजेतिर भएको घटनापछि स्थानीय बासिन्दाले विवाद मिलाउन प्रशासनले आनाकानी गरेकै कारण हत्यासम्मको घटना भएको भन्दै आलोचना गरेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!