बालविवाह गराउने चारजना हिरासतमा

Posted on: 21 Feb, 2017

पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।


गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय कुश्मा कुमारी (नाम परिर्वतन) लाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन् ।


महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडित बालिकाले उजुरी दिएपछि सो बारेका थप अनुसन्धान र आवश्यक कारवाहीको लागि भन्दै महिला तथा बालबालिका कार्यालय पर्वतले गुल्मीमा पठाएको थियो । 


न्यायको लागि पुगेकी बालिकाले उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।


मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार       जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!