घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ

Posted on: 23 Feb, 2017

फागुन १२, धनुषा । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । 

उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ । धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए । 

प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिनुभयो । को २५ प ६१३९ नंको मोटरसाइकलमा सवार भई फरार हुन खोजेका दुवैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । 

प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुवैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभएको छ । 

जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सञ्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पु¥याएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!