भक्तपुर मालपोतका नासुसहित तीनजना अख्तियारको फन्दामा

Posted on: 23 Feb, 2017

फागुन १२, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । 

मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु छ लाख १४ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । 

आयोगमा परेको निवेदनअनुसार विगत एक सातादेखि सो कार्यालयका कर्मचारीमाथि आयोगले निगरानी गर्दै आएकोे आयोगका कर्मचारी गोकुल पन्तले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!