सप्तरीका शिव मन्दिरमा भक्तजनको भीड

Posted on: 24 Feb, 2017

फागुन १३, सप्तरी । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा सप्तरी जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । 

जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुर, मिस्टान्न तथा फलफूलसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शम्भुनाथको शिव मन्दिरमा चढाउनका लागि लामबद्ध भएका थिए । 

विभिन्न ध्वजा तथा बलवतीले सिङ्गारिएको सो मन्दिरमा पूजापाठका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै लाम लागेर पूजाआजा गरिरहेका छन् । 

त्यस्तै, सप्तरीको राजविराज नगरपालिका–१ मा रहेको शिव मन्दिर, महदेवा गाविसस्थित शिव मन्दिर र २ नं योगिनियाँ–९ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर लगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको छ । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!