महाशिवरात्रिमा गलेश्वरधाममा भक्तजनको चहलपहल

Posted on: 24 Feb, 2017

फागुन १३, म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । 

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । 

उहाँले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कालीगण्डकी नदी किनारमा विशाल चक्रशिलामा अवस्थित गलेश्वर शिवालय पश्चिमाञ्चलकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा परिचित छ । 

विगतका वर्षमा भीडभाडमा सुन चोरी हुने गरेकाले सुरक्षा व्यवस्थापनमा विशेष जोड दिइएको कोषले जनाएको छ । मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयम्सेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताउनुभयो । 

कोषले रु एक लाख ५० हजार लगानी गरी आठ ठाउँमा सिसी टिभी क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जडान गरिएका चारवटा पुराना क्यामेरालाई विस्थापित गरी नयाँ र प्रविधियुक्त क्यामेरा जडान भएका छन् । 

त्यस्तै, कोषले गलेश्वर मन्दिरमा विद्युत्भार कटौतीको समयमा पनि उज्यालो राख्नका लागि सोलार जडान गरेको छ । करिब एक लाख ७५ हजारमा जडित सोलारले विद्युत्भार कटौतीकोे समयमा समेत गलेश्वर शिवालय परिसरमा उज्यालो बनाउनेछ । 

शिवरात्रिको राति महावत्ती बाल्न आउनेको सुविधाका लागि करिब पाँच सयजना बस्न सक्ने व्यवस्था समेत मिलाइसकिएको कोषले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!