सफा गाउँ अभियानमा बालबालिका

Posted on: 25 Feb, 2017

पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा गाविसमा रहेको नव ज्ञान ज्योति बालक्लबले “समाज सुधार हाम्रो शान, सरसफाइ अभियान हाम्रो काम” भन्ने मुल नाराका साथ आफ्नो गाउँ टोल सफा राख्ने अभियानमा जुटेको हो ।

बाच्छा ५  का झण्डै ३५ जना बालबालिकाहरु बालक्लबमा सांगठनिक भएर आफ्नो टोल तथा सार्वजनिक स्थलहरुको सरसफाइमा जुटेका हुन् । क्लबले आफ्नो पहिलो बार्षिक उत्सवका अबसरमा आयेजना गरेको विभिन्न नृत्य प्रतियोगिता मार्फत संकलन गरेको १५ हजार रुपैयाँबाट सार्वजनिक स्थलहरुमा ६ वटा सिमेन्टका फोहोर फाल्ने रिङ बनाएर राखेको हो । आजको सहारान्यूजमा खबर छ ।

समाजलाई सफा र स्वच्छ राख्नुको साथै समाजको विकासमा बालबालिकाको पनि सहभागीता हुनसक्छ, अबसर प्राप्त  गरे बालबालिकाहरु समाजलाई बदल्ने कामहरु गर्न सक्छन् भन्ने उदाहरण पेश गर्न सफल भएको बाल क्लब सहजिकरणकर्ता  मिरज कोइराला बताउँछन् ।

गाविसको विकासको लागि र सफा बाच्छा अभियानमा जुटेका बालबालिकाहरुबाट अन्य क्लब तथा सामजिक संघसंस्थाहरुले समेत अनुसरण गर्नुपर्ने देखिन्छ । समाज सुधारको लागि आफै जुट्नुपर्ने र अगाडि बढ्नुपर्ने सन्देश बालक्लबले प्रवाह गरेको छ । विसं २०७२ सालमा श्रीषा कार्कीको नेतृत्वमा  स्थापना भएको बालक्लबले आफ्नो गाउँ विकास समितिभित्रको वडा नं ५ को सरसफाई तथा सांस्कृतिक परम्परालाई समेत जर्गेना गर्नको लागि क्रियाशिल देखिएको छ ।

बाच्छा ५ अन्तरगत पर्ने कालीगण्डकी लोकमार्ग बृहत सरसफाइ गरिसकेको क्लबले आगामी दिनमो सचेतनामुलक नाटक पदर्शन गर्नुको साथै सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने क्लबकी अध्यक्ष श्रीषा कार्की बताउँछिन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!