पर्यटक लोभ्याउँदै वसन्तपुर

Posted on: 07 Mar, 2017

फागुन २४, तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । 

वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा बाह्रै महिना पर्यटकको चहलपहल देखिन थालेको छ । वर्षमा एक पटक मात्र आउने पर्यटकलाई वर्षैभरी लोभ्याउन वसन्तपुरवासी जुटेका छन् । 

लामो समयदेखि चिरपरिचित यहाँको गुराँसे पर्यटनलाई अझ प्रबल बनाउन पूर्वाधार निर्माणसँगै त्यस्ता सम्भावितस्थलको व्यवस्थापनमा स्थानीय बासिन्दा आफैँ जुटेका हुन् । तिनजुरे मिल्के जलजले क्षेत्रमा चैत वैशाखमा राताम्मे गुराँस फुल्छ, त्यही गुराँस नै यहाँको मुख्य आकर्षण हो । गुराँस फुल्दा एक याममा मात्र आउने पर्यटकलाई वर्षैभरी आकर्षित गर्न स्थानीयवासीले वसन्तपुर बजारको मुख्य चौकमै लालीगुराँस स्तम्भ निर्माण गरेका छन् । पर्यटकलाई जुनसुकै बेला आए पनि फुलिरहेको रातो गुराँसको फूल देखाउन स्तम्भ निर्माण गरिएको स्थानीय अगुवा तथा पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो । सो स्तम्भलाई रातको समयमा पनि फुलिरहेको देखाउन स्तम्भसँगै बत्तीको पनि व्यवस्था गरिएको छ । 

यस्तै वसन्तपुर बजार नजिकैको तीनजुरे पहाड फेदीको जङ्गलमा आकर्षक कलाकृति बनाइएको छ । जङ्गलभित्र रहेका ठूला ढुङ्गा र रूखलाई कुँदेर जङ्गली जनावरको आकृति बनाइएको हो । 

बाघ, गोही, छेपारो, कछुवा, डल्फिन, मयुर, जङ्गली हर्स, बँदेल, मृगलगायत जनावरका आकृति कुँदिएको सो पहाडलाई स्थानीयवासीले कैलाश हिलको नामकरण गरेका छन् । 

जङ्गलमा रहेका ठूला ढुङ्गालाई हिमाली भेगमा पाइने चौंरी, याक र पहाड–तराईमा पाइने साँढे गोरुको आकृति दिएर कुँदिएको छ । 

स्थानीयवासीले यो क्षेत्रलाई गुराँस र ढुङ्गाको बगैँचा अर्थात् आरआर गार्डेनको रुपमा नामकरण गरेका छन् । यहाँको जङ्गलमा प्राकृतिक रुपमा त्यस्ता जङ्गली जनावर झँै देखिने ढुङ्गा र रुखका आकृतिलाई व्यवस्थापन र रङ्गरोगन गरेर आकर्षक बनाउने काम गरिएको पार्क निर्माण समितिका सचिव प्रकाश श्रेष्ठले बताउनुभयो । 

पात पतिङ्गर र झ्याउले छोपिएका यी आकृतिलाई सफा गरेर रङ लगाउने काम मात्र गरिएको हो । यहाँ भीमसेनले छेलो हानेको ढुङ्गा, सीताले जाँतो पिनेको, ढुङ्गामा सीताले सारी सुकाएको, बाघ, भालु, मृगलगायतका जङ्गली जनावरका पाइलालगायतका आकृति प्रस्टै देखिन्छन् । यो क्षेत्रमा २८ प्रजातिका गुराँस र विभिन्न आकृतिका कडा खाले ढुङ्गा पाइन्छ । 

जङ्गलभित्र निर्माण भइरहेका आकृति अवलोकनका लागि चारैतर्फ ग्राभेल गरेर पैदल बाटोसमेत निर्माण गरिएको छ । यो क्षेत्रसम्म पुग्नका लागि समेत व्यवस्थित सडकको निर्माण समेत गर्ने तयारी रहेको छ । 

‘हामीले पर्यटकीय पूर्वाधार निर्माण गर्दा प्राकृतिक संरचनालाई बिग्रन दिएका छैनौं,’ पार्क निर्माण अनुगमन समितिका संयोजक वीरबहादुर सुब्बाले भन्नुभयोे, “सम्भव भएसम्म जङ्गली जनावर र रूख बिरुवाको आफ्नै रङ दिने काम गरेका छौं ।” यहाँसम्म आउने पर्यटकले प्रत्यक्ष जङ्गली जनावर नै देखेको अनुभूति गर्न सकून् भनेर सबै क्षेत्रमा पाइने जनावरको आकृति निर्माण गरिएको उहाँले बताउनुभयो । 

यस्तै पर्यटन प्रवद्र्धनकै निमित्त वसन्तपुरमा ‘भ्यु टावर’ समेत निर्माण गरिएको छ । यहाँ घुम्न आउने पर्यटकलाई दृश्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यले भ्यू टावर निर्माण गरिएको स्थानीयवासीले बताएका छन् । भ्यु टावर निर्माण भएपछि यहाँबाट तेह्रथुम, सङ्खुवासभा, पाँचथर र धनकुटाका विभिन्न भू–भाग अवलोकन गर्न सकिने भएको छ । 

पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको वसन्तपुरमा व्यवस्थित र ठूला लगानीका होटल तथा रिसोर्ट खुल्ने क्रम पनि सुरु भएको छ । केही वर्ष अघिसम्म बस्न र खान निकै समस्या हुने वसन्तपुर बजारमा हाल ५० भन्दा बढी होटल सञ्चालनमा छन् । पर्यटकलाई कुनै पनि अभाव हुन नदिने गरी सम्भावित क्षेत्रलाई व्यवस्थित गर्ने काम भइरहेको पर्यटन प्रवद्र्धन समितिका महासचिव तिवारीले बताउनुभयो । 

“पूर्वका विभिन्न सहरमा दैनिक हजारौँ आन्तरिक तथा भारतीय र अन्य राष्ट्रबाट पर्यटक आउँछन्,” महासचिव तिवारीले भन्नुभयो – “हामी ती पर्यटकलाई वसन्तपुरसम्म नआई फर्कनै नसक्ने गरी लोभ्याउन सम्भावित क्षेत्र र पूर्वाधारको व्यवस्थापनमा जुटेका हौँ ।” अब चैत वैशाखमा गुराँसको अवलोकन, जेठपछि गर्मी छल्न तथा दृश्यावलोकन गर्न, बनभोज खान र हिउँ खेल्न पर्यटकलाई वसन्तपुरले निम्तो दिइरहने उहाँले बताउनुभयो । 

यहाँका बासिन्दालाई पर्यटन प्रवद्र्धनका लागि भएका सबै प्रयासमा पर्यटन कार्यालय काँकडभिट्टाले साथ दिइरहेको छ । गुराँसे वनको संरक्षणदेखि गुराँस स्तम्भ, आरआर गार्डेन, भ्यु टावर, सडक निर्माणसम्म पर्यटन कार्यालयले आर्थिक सहयोग गरेको निर्माण समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!