तीन वर्षमा ७१ हजार मतदाता थपिए

Posted on: 21 Mar, 2017

चैत ८, धनगढी । कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन् । 

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए । अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ । विसं २०७० मा भएको संविधान सभा निर्वाचनमा जिल्लाभरी २१७ वटा मतदानस्थल तोकिएको थियो । 

कार्यालयले आगामी केही दिनमा मतदाता शिक्षा प्रशिक्षक तालिमका साथै सामग्री व्यवस्थापनलगायत तालिम प्रदान गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचन धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गाउँपालिकामा हुनलागेको हो । 

साविकमा कैलालीमा एक (धनगढी) उपमहागरपालिका, पाँच नगरपालिका र २८ गाविस रहेकोमा नयाँ संरचनामा एक उपमहानगरपालिका (धनगढी), छवटा नगरपालिका र छवटा गाउँपालिकामा विभाजन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!