रुपन्देहीमा दिनदाहाडै पेस्तोल देखाएर गाडी र मोबाइल लुटियो

Posted on: 21 Mar, 2017


टंक सुनार/चैत ८, रुपन्देही । रुपन्देहीको देवदह खैरेनीमा दिनदाहाडै लुटपाट भएको छ । 

मोटरसाइकलमा आएका चार जनाको अज्ञात समुहले पेस्तोल देखाएर देवदह आर्दश बहुमुखी क्याम्पसका स्ववीयु अध्यक्ष कृष्ण पौडेलको गाडी र मोबाइल सेट लुटेर लगेको प्रहरीले जानकारी दिएको छ । 

देवदहको मिलचोकबाट शिबालय टोल तर्फ जाँदै गर्दा मोटसाइकलमा आएका अज्ञात समुहले पौडेल सवार बा १५ च ७२७९ नम्बरको कार र मोबाइल सेट लुटेर लगेको पिडित पौडेलले बताउनु भयो । एक्कासी मोटरसाइकल गाडीको अगाडी रोकेको र आफुलाई बाहिर निकालेर गाडीको पछाडी धकेल्दा आफु बचेर भागेको पौडेलको भनाई छ । 

घटना लगत्तै प्रहरीले पौडेलको मोवाइल नेटवर्क जाँच गर्दा नवलपरासीको किर्तीपुर सम्म रहेको र त्यसपछि बन्द भएको देवदह प्रहरी प्रमुख केश बहादुर थापाले जानकारी दिनु भयो । घटनाको बिरोधमा एमाले कार्यकर्ताहरुले पुर्व पश्चिम लोकमार्गमा एक घण्टा चक्काजाम गरेका थिए । 

पछिल्लो समयमा देवदह क्षेत्रको सुरक्षा चुनौती वढ्दै गएको छ । केही समय अगाडी मात्रै युवा संघ अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरीएको थियो । हत्या लगत्तै धम्की आउने मध्ये पौडेल पनि एक हुन । 

तिवारी हत्याको समयमा धम्की आएका कारण यस घटनालाई पनि यसै घटना संग जोडेर हेरीएको छ । घटना लगत्तै देवदह क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारीएको छ । लुटेराहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!