पोखरामा मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु

Posted on: 26 Mar, 2017

चैत १३, पोखरा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी यहाँ मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीका गुल्मी, पाल्पा, गण्डकी र धवलागिरिका १० जिल्लाका प्रशिक्षकको सहभागिता रहेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

दुई दिनसम्म हुने सो कार्यक्रममा जिल्लाका निर्वाचन अधिकारी, माध्यमिक विद्यालयका महिला सामाजिक शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति, सामाजिक अधिकृत र जिल्ला समन्वय समितिका सामाजिक शाखा अधिकृतसमेत ५० जनाको सहभागिता छ । प्रशिक्षकले प्रशिक्षण लिएपछि आआफ्ना जिल्लामा गएर हरेक मतदान केन्द्रका टोल टोलमा खटिने स्वयंसेवकलाई मतदाता शिक्षासम्बन्धी तालिम दिनेछन् । 

मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउने र मतदान केन्द्रमा बढीभन्दा बढी मतदाता सहभागी गराउन प्रेरित गर्ने विश्वास गरिएको छ । यही चैत २७ वा २८ गतेदेखि एक महिनासम्म मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!