टुहुरा तथा विपन्नका लागि अक्षयकोष

Posted on: 05 Apr, 2017

चैत २३, जाजरकोट । जाजरकोटको एक विद्यालयमा गरिब, विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको छ । 

जाजरकोटको बारेकोट विशेष गाँउपालिका–१ रामीडाँडाको कालिका आदर्श माविमा गाउँमा भएका टुहुरा, गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको हो । 

आर्थिकरुपमा विपन्न, आमाबाबु नभई टुहुरा भई विचल्लीमा परी नियमित विद्यालय नआउने बालबालिकालाई सहयोग गरी नियमितरुपमा विद्यालय आउने बनाउन विद्यालयले अक्षयकोषको स्थापना गरिएको कालिका आदर्श मावि रामीडाँडाका प्रधानाध्यापक पृथ्वीराज ज्योतिले बताउनुभयो । 

शिक्षकको तलब कटाएर र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट रकम उठाएर रु २८ हजार नगद जम्मा गरी अक्षयकोषको स्थापना गरिएको ज्योतिले जानकारी दिनुभयो । विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न सहायता कोष स्थापना गरिएको उहाँले बताउनुभयो । 

अक्षयकोषको ब्याजबाट आउने रकम गरिब विपन्न तथा टुहुरा बालबालिकालाई कापीकलम किन्न सहयोग गर्ने गरिएको ज्योतिको भनाइ छ । 

बाबुको मृत्यु तथा आमाले अन्यत्र विवाह गरेर गएपछि विचल्लीमा परेका बारेकोट विशेष गाउँपालिका–१ रामीडाँडाका दलित शिव नेपाली र जुम्ल्याहा बहिनी सीता विक र पार्वती विकलाई यो कोषबाट सहयोग गरिएको र आगामी वर्षदेखि बढाउँदै जाने उहाँले बताउनुभयो । 

विचल्लीमा परेका शिव नेपाली कक्षा ४, सीता विक र पार्वती विक कक्षा २ मा कालिका आदर्श माविमा अध्ययनरत छन् । गरिब परिवारका यी बालबालिका बाबुको मृत्यु तथा आमाको अन्यत्र विवाह भएपछि विचल्लीमा परेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!