सक्रान्तिबजारमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी सहित दर्जनौ स्थानीय घाइते

Posted on: 08 Apr, 2017


अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ । 

गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । 

महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा रहेको प्रहरी कार्यालयको बोर्डमा ढुंगा मुढा गरेका थिए । 

वार्तामा प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान भईरहेको गरिरहेको बताएपनि स्थानीय नेतृत्व पक्षले किटानी जाहेर गरेकालाई तत्कालै पक्राउ गर्न प्रहरीलाई दवाव दिएका थिए । प्रहरी प्रशासनले तत्कालै पक्राउ गर्न नसक्ने बताएपछि स्थानीय आक्रोसित भएपछि प्रदर्शन झडपमा परिणत भएको थियो । 

आक्रोेसित स्थानीयले करिव १० मिनेट सम्म ईलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज गरिएको प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भयो । 

झडपमा परी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको छ ।

प्रहरीले सागर थिंलाबु, चन्द्र तामाङ, खड्ग कटुवाल, नरेन्द्र सम्बाहाम्फे, विनोद तामाङ र डम्बर तामाङलाई नियन्त्रणमा लिएको हो । करिब एक घण्टासम्म तनावग्रस्त बनेको संक्रान्तिबजार घटनापछि भने अवस्था सामान्य रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!