प्रहरी र स्थानीय बीचको झडपपछि संक्रान्तिबजार र यातायात ठप्प

Posted on: 08 Apr, 2017

अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको छ ।  बजारका अधिकांश पसलहरु बन्द भएका छन् भने आठराईबाट छुट्ने यातायातका साधनहरु समेत ठप्प भएपछि स्थानीयको जनजीवन प्रभावित भएको हो । 

बजारको बीच भागमा रहेको प्रहरी कार्यालयमा शुक्रबार साँझ प्रदर्शनकारीबाट ढुङ्गा मुडा भएपछि पसलहरु पनि अस्रक्षित हुन सक्ने सम्भावनाले संक्रान्तिबजार र बजारमै लाग्ने साप्ताहिक हाट अचानक बन्द भएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । 

शुक्रबारै भएको  प्रहरी र स्थानीयको झडपमा सवारी चालक माथी प्रहरीले कुटपिट गरेको भन्दै सावारी चालाक र यातयात व्यावसायीहरुले यातायातका साधन बन्द गराइका छन् । आठराईबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौ सवारी साधन ठप्प भएका छन् । 

निर्दोश चालक माथि भएको कुटपिटको छानबिन नभए सम्म र सवारी साधनको सुरक्षाको महशुस नभए सम्म यातायातका साधनहरु बन्द गरिने कन्चनजंगा यातायातका संक्रान्तिबजार काउन्टर ईन्चाज राजेन्द्र लिम्बुले जानकारी दिनु भयो । प्रहरी प्रशासनमा भने बजार बन्द र यातायत बन्दको कुनै आधिकारीक जनाकारी नआएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीले बताउनु भएको छ  । 

गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती पक्ष र गाउँलेले हत्या भएको भन्दै हत्यारालाई तत्कालै कारवाही गर्न माग गर्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय अगाडि प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । 

महिला अधिकार कर्मि सहित स्थानीयको प्रदर्शन सगै प्रहरी प्रशासन र स्थानीय नेतृत्व सँगको वार्ता नमिले पछि आक्रोसित भिडले साँझ ५ बजेदेखि प्रहरी कार्यालयको प्रवेशद्धारमा तोड्फोड गर्ने प्रयास गरे पछि झडप भएको थियो 

प्रहरी र स्थानीय बीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउड असुल ग्याँस र लाठी चार्ज समेत गरेको थियो । झडपको क्रममा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राई सहित दर्जनौ प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारमा उपचार भईरहेको बताइएको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!