शल्यक्रिया गरेकी महिलाको पाठेघरमा कपडाको टुक्रा भेटियो

Posted on: 15 Apr, 2017

ललित बोहरा/बैशाख २, डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराका डाक्टरले महिलाको पाठेघरको शल्यक्रिया गर्दा महिलाको पेटमा कपडाको टुक्रा छोडेको पुष्टि भएको छ ।

बैतडीकी एक महिलाको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा पाठेघरमै कपडाको टुक्रा छोडेर गम्भीर गल्ती दोहोर्याएको विरामीका आफन्तले बताएका छन् । बैतडीको सिद्धपुरकी ३८ बर्षिय प्रतिभा भट्टको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा उपक्षेत्रिय अस्पताल डडेल्धुराले पाठेघरमै कपडाको चार टुक्रा छोडेको विरामी भट्टका श्रीमान् कमलापति भट्टले बताए ।

गत चैत १२ गते भट्टको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा कार्यरत डा. नवराज जोशीले शल्यक्रिया गरेका थिए । पाठेघरको ट्यूमरको उपचार गराउन भट्टको शल्यक्रिया गरेको दुई/तीन दिनमै बेस्सरी पेट दुख्ने, पेट फुल्ने, बेहोस हुने भएपछि फेरी चेकजाँचका लागि उपक्षेत्रिय अस्पतालमा जाँदा सामान्य रहेको बताएको र दुखाई कम गर्ने सुई लगाएको उनले बताए ।

पेटको दुखाई बढ्दै गएपछि विरामीलाई कोहलपुर शिक्षण अस्पतालमा चेकजाँच गराउदा पाठेघरमै चार टुक्रा कपडा भेट्टीएको हो । कोहलपुर शिक्षण अस्पतालमा दोस्रो पटक अपरेशन गरेर कपडाका टुक्रा झिकिएको र उपक्षेत्रीय अस्पतालका डाक्टरले गरेको गम्भीर त्रुटी फेला परेको भट्टले बताए ।

दोस्रो अपरेशन सफल नभएको भए उनको ज्यानै समेत जान सक्ने खतरा थियो । अहिले विरामी भट्टको अवस्थामा सुधार आएको छ । यो घटनापछि शल्याक्रिया गर्ने उप क्षेत्रिय अस्पताल डडेल्धुराका डाक्टर नवराज जोशीले घटना सार्वजनिक नगरिदिन हारगुहार गरिरहेका विरामीका आफन्त भट्टले बताएका छन् ।

डाक्टरको चरम लापरवाहीले ठूलो समस्या निम्त्याएको भन्दै विरामीका परिवार आक्रोशित भएका छन् । उनीहरुले लापरवाही गर्ने डाक्टरलाई कार्वाही गर्न माग गरेका छन् भने क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । केही समय पहिले पनि उपक्षेत्रिय अस्पताल डडेल्धुराले बझाङकी एक महिलाको शल्यक्रियाको क्रममा पेटमै कैची छुटाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!