गोरखा अब 'लोडसेडिङमुक्त' जिल्ला

Posted on: 23 Apr, 2017

वैशाख १०,गोरखा। ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् ।

मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । 

जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब २० हजार पोलमध्ये १५ हजार काठका पोल गाडिएका छन् । ती पोल धमिला लागेका, घाम, पानीले मक्किएकाले विद्युत् रोयल्टीमार्फत आएको रु छ करोडबाट फलामे पोल खरिद गरी काठका पोल परिवर्तन गर्न थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीका अनुसार सबस्टेसनबाट विद्युत् वितरण गरिएका जिल्लाका सबै क्षेत्रमा विद्युत्भार कटौती गरिएको हो । हालै सबस्टेसनमा छ मेगाभोल्ट एम्पायर क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । “प्राविधिक समस्या नआएका बेला विद्युत् कटौति गर्न पर्दैन”, अधिकारीले भन्नुभयो, “मागअनुसार विद्युत् वितरण गर्न सक्छौँ ।” यसअघि गोरखामा बिहान, बेलुकी गरी दिनहुँ चार घन्टा विद्युत्भार कटौती थियो । 

गोरखामा यिमित विद्युत् उपलब्ध गराउन मुच्चोकमा हालै निर्माण भएको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहयोगी बन्यो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाबाट छ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालिका हाइड्रोपावर कम्पनीले करिब रु एक अर्ब २० करोड लगानीमा बनाएको उक्त आयोजनाबाट उत्पादित विद्युत् गत पुसदेखि सबस्टेसनमा जडान गरी वितरण गरिँदै आइएको छ । 

गोरखा र पालुङटार नगरपालिकासहित नौ गाउँपालिकाका अधिकांश ठाउँमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । उत्तरी भेगका १५ बढी गाविसवासीले लघुजलविद्युत्बाट उत्पादित विद्युत प्रयोग गर्दै आएपनि भूकम्पले क्षति पुर्याएका केही आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् । विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले विकल्पमा सोलार ऊर्जाको प्रयोग गरेका छन् । मुच्चोक, सिम्जुङ, सौरपानी, हंसपुरलगायत गाउँमा अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!