पाल्पामा दुर्घटना परि पाँच जनाको मृत्यु, एकै घरका तीन जना परे

Posted on: 24 Apr, 2017

बैशाख ११, पाल्पा | छुट्टाछुट्टै दुई दुर्घटनामा पाल्पामा आइतबार पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ । 

ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका पुरन सारू (२६), उनकी श्रीमती बालकुमारी (२४), पाँच वर्षीय छोरा हेमेस र सहचालक प्रेमबहादुर कनौजे (२२) छन् । गम्भीर घाइते उनीहरूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।

पाल्पाको झुम्साबाट मरेकतर्फ जाँदै गरेको लु।१ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । कच्ची सडकखण्डमा अनियन्त्रित भएर ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका सइ प्रवीण आचार्यका अनुसार अर्को ट्रिपरलाई साइड दिन लाग्दा सो दुर्घटना भएको हो ।

पाल्पामा आइतबार नै रिद्दिकोट गाउँपालिका–७ चाचरीमा जिप दुर्घटना भएको छ । लु।१ज १५८१ नम्बरको जिप दुर्घटनामा स्थानीय दानबहादुर गाहाको मृत्यु भएको पाल्पा प्रहरीका सइ प्रवीण आचार्यले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!