मुस्ताङमा लेक लागेर बर्सेनि दुईजना पर्यटकले ज्यान गुमाउँछन्

Posted on: 26 Apr, 2017

वैशाख १३,  मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । 

कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । 

गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ । दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताए। “पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्”, उनले भने। मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन् ।

गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताए । 

धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण बर्सेनि हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन् । एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!