१२ दलले उम्मेदवारी दर्ता गराए

Posted on: 02 May, 2017

धिराज आर.सि. | बैशाख १९, जाजरकोट | स्थानीय तहको निर्वाचन अन्र्तगत आज जाजरकोटमा १२ दलले आफ्ना आधिकारिक उम्मेदवार चयन गरेका छन् । सात स्थानीय तह रहेको जाजरकोटका विभिन्न मतदान केन्द्रमा नारा जुलुस सहित पुगी दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट भेरी नगरपालिकाको मेयरमा सनत कुमार कार्की, उपमेयरमा धनाकुमारी चपाइले उम्मेदवारी दर्ता गरेका छन् । मेयरका उम्मेदवार कार्की पूर्व जिल्ला सभापति समेत हुन् । 

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरमा सीपी घर्ती मगर, उपमेयरमा भावना भन्डारी उम्मेदवार बनेका छन् । एमालेका जिल्ला पार्टी सचिव रहेका मगर अन्य प्रतिस्पर्धीका तुलनामा युवा हुन् । त्यसैगरी माओबादी केन्द्रले भेरी नगरपालिकाको मेयरमा ढकबीर राना, उपप्रमुखमा पार्वती विकलाई उम्मेदवार बनाएको छ । 

जाजरकोटमा मुख्य दलहरुले प्रमुख पदमा महिला उम्मेदवार उठाउन भने कन्जुस्याई गरेका छन् । तर, नया शक्ति, नेकपा माले, क्रान्तिकारी पार्टी सहितको संयुक्त गठबन्धनले भेरी नगरपालिकामा सीता दवाडीलाई मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ भने राप्रपाले पनि सोही नगरपालिकामा शोभा शाहीलाई मेयर पदमा उम्मेदवार बनाएको छ । अन्य साना दलहरुले आफ्ना आधिकारिक उम्मेदवारी दर्ता गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!