गोरखामा भूकम्पले क्षति पुगेका खानेपानी आयोजना दुई वर्षपछि मर्मत

Posted on: 04 May, 2017

बैशाख २१, गोरखा । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाको छेकम्पार गाउँका दुई वटा खानेपानी आयोजनाको मर्मत गरिएको छ । 

बेलायती संस्था डिएफआइडीको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले खानेपानी आयोजनाको मर्मत कार्य गरेको हो । गत कात्तिकदेखि आयोजना मर्मतको काम सुरु भएको थियो । 

छेकम्पारमा स्थानीय जनताको श्रमदान र डिएफआइडीको सहयोगमा फुर्वे, छुले खानेपानी आयोजना मर्मत भएको छ । सडक सुविधाको पहुँच नपुगेको छेकम्पारमा आयोजना मर्मत गर्ने सिमेन्ट, बालुवा, छडलगायत सामग्री ढुवानी गर्न समस्या छ । हेलिकप्टरबाट सिमेन्ट ढुवानी गर्नुपर्दा आयोजना मर्मतमा बजेट धेरै खर्च भएको हो । ढुङ्गा, गिट्टी, बालुवा भने स्थानीय जनताले जुटाएका थिए । 

फुर्वे खानेपानी योजनामा संस्थाले रु पाँच लाख १२ हजार ८० र जनश्रमदानबाट रु दुई लाख ६७ हजार खर्च भएको छ । यस्तै छुले खानेपानी आयोजना मर्मतमा संस्थाले रु छ लाख १६ हजार १३७ र जनश्रमदानबाट रु दुई लाख ८४ हजार २०० बजेट खर्च भएको हो । आयोजना सम्पन्न गर्न स्थानीय जनताले कुल लागतको १४ प्रतिशत श्रमदान गरेका छन् । 

फुर्वे खानेपानी मर्मतपछि २५ घरधुरीका १०८ जना जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने छुले आयोजनाबाट २८ घरधुरीका १५२ जना लाभान्वित भएको स्वाँरा सघन गाउँ विकास केन्द्रका दोर्णचार्य तिमल्सेनाले जानकारी दिनुभयो । आयोजना मर्मतपछि खानेपानीको सहज पहुँच भएको भन्दै गाउँले खुसी छन् । 

सरकारले ल्याएको एक घर एक धारा नीतिलाई सहयोग गर्न संस्थाले खानेपानी आयोजना पुनःनिर्माणमा सघाएको हो । यस्तै डिएफआइडीकै सहयोगमा जिल्लाका विभिन्न आठ गाउँका १७ वटा खानेपानी आयोजनाको मर्मत कार्य भइरहेको र आउँदो जेठसम्म मर्मत गरिसक्ने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!